सामाजिक सञ्जालमा अश्लील सामग्री तथा लिङ्कबाट जोगिने उपाय

कीर्तिपुर निवासी रजनी महर्जनले फेसबुक चलाउन थालेको धेरै भइसक्यो । यसले साथीभाइ र टाढाका इष्टमित्रसँग सम्पर्कमा रहन तथा उनीहरूको गतिविधि नियाल्न उनलाई निकै सजिलो भएको छ । तर, यही फेसबुकले उनलाई आजभोलि निकै तनाव दिन थालेको छ । फोन, एसएमएस र मेसेजमा स्पष्टीकरण दिँदादिँदा उनी हैरान भइसकेकी छिन् । उनी हैरान पर्नुको कारण उनको टाइमलाइनमा अश्लील सामग्री पोष्ट हुनु, साथीहरू अटोमेटिकली अश्लील पेजमा ट्याग हुनु र मेसेजमा पनि यस्तै सामग्री जानु हो । रजनीलाई मात्र होइन, अचेज सामाजिक सञ्जाल फेसबुकमा अश्लील फोटो तथा भिडियो ट्याग तथा म्यासेजले अधिकांश प्रयोगकर्तालाई तनावग्रस्त बनाउने गरेको छ । कुनै लिङ्कमा क्लिक गरेकोलगत्तै आफ्ना सञ्जालमा रहेका मित्र तथा आफन्तजनलगायत सबैमाझ स्वतः अश्लील सामग्री शेयर हुने गरेको छ । फेसबुक एकाउण्टबाट प्रयोगकर्ताको जानकारी र अनुमतिविना नै यस्ता सामग्री शेयर हुने समस्या अहिले व्याप्त छ । यस्तै, समस्याबाट जोगिन यहाँ केही उपाय प्रस्तुत गरिएको छ : - अश्लील सामग्री शेयर भएको जानकारी हुनेबित्तिकै आफ्नो फेसबुक एकाउण्टमा ट्याग तथा म्यासेजमा पोष्ट भएका त्यस्ता कण्टेण्ट डिलिट गर्ने - फेसबुक चलाउन प्रयोग गरेको कम्प्युटर, फोनलगायतको ब्राउजरको सेसन, कुकिज फाइल तथा एप्लिकेशन डाटा आवश्यकताअनुसार कम्प्युटरबाट डिलिट गर्ने - फेसबूक चलाउन प्रयोग गरिएको कम्प्युटरमा रहेका ‘टेम्पोररी फाइल’ पनि आवश्यकताअनुसार ‘रिमुभ वा डिलिट’ गर्दै जाने - फेसबुकको पासवर्ड तत्काल परिवर्तन गर्ने । साथै, पासवर्डलाई सुरक्षा प्रदान गर्न अन्य विकल्पसमेत इनेबल गर्ने - फेसबुकको सेक्युरिटी पोलिसी ‘एडिट’ गरी सम्बन्धित प्रयोगकर्ताको अनुमतिविना फेसबूकमा कुनै कुरा ट्याग गर्न नदिने व्यवस्था छनोट गर्ने । यसले अन्य व्यक्तिले प्रयोगकर्ताको फेसबुक वालमा कुनै कुरा ट्याग वा पोष्ट गर्न मिल्दैन । - आफूले चलाउँदै आएको फेसबूक पेजसँग सम्बन्धित डाउनलोड गरिएका अन्य एप्लिकेशन निष्क्रिय गर्ने र आवश्यकताअनुसार ‘रि–ईन्ष्टल’ गर्ने - कम्प्युटरलगायतमा इण्टरनेट चलाउन प्रयाग गरिँदै आएको इण्टरनेट ब्राउजर एप्लिकेशनहरू ‘रि–इन्ष्टल’ गर्ने - टाइमलाइनमा अनावश्यक पोष्ट हुन नदिने उपाय - कम्प्युटरमा फेसबुक पेज खोलेर ताला चिह्न भएको ठाउँमा क्लिक गर्नुहोस् । - त्यसको पुच्छारमा ‘सी मोर सेटिङ्स’ लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । - त्यसपछि नयाँ स्क्रिन प्रस्तुत हुन्छ । यहाँ ‘टाइमलाइन एण्ड ट्यागिङ’ लेखेको ठाउँमा क्लिक गर्नुपर्छ । क्लिक गरेपश्चात् ‘टाइमलाइन एण्ड ट्यागिङ’ लेखिएको टेबल प्रस्तुत हुन्छ । त्यसको बायाँपट्टि तल ‘हाउ क्यान आई म्यानेज ट्याग्स पीपल एड एण्ड ट्यागिङ सजेसन्स’ लेखेको स्थानको पहिलो लहरमा ‘रिभ्यू ट्याग्स पीपल एड टू योर ओन पोष्ट्स बिफोर दि ट्याग्स एपियर अन फेसबुक ?’ लेखिएको स्थानसँगै दायाँपट्टि अफ लेखिएको पाउनुहुनेछ । यसलाई अन गर्ने र त्यसैको दायाँपट्टि एडिटमा क्लिक गर्ने । - एडिटमा क्लिक गरेपछि एउटा फोटो प्रस्तुत हुन्छ । त्यसको माथिपट्टि ‘डिसेबल्ड’ लेखेको हुन्छ । त्यसमा क्लिक गरेर ‘इनेबल्ड’ बनाउनुपर्छ । यसपछि माथिपट्टि दायाँ कुनामा ‘क्लोज’मा क्लिक गर्नुपर्छ । - यति गरिसकेपछि जसले जे ट्याग गरे पनि सीधै प्रयोगकर्ताको वालमा ती सामग्री प्रस्तुत हुन पाउँदैन । प्रयोगकर्ताले ‘भ्यू एक्टिभिटी लग’मा गएर सामग्री प्रस्तुतिका लागि अनुमति प्रदान गरे मात्र वालमा आउँछन् ।

Share this

Related Posts

Previous
Next Post »