२९ जेष्ठ, काठमाडाैं । फेवाताल सिरानकाे सिमसारमा सुरू भएकाे प्लटिंले तालनै जाेखिममा पर्न सक्ने देखिएकाे छ । सामान्य अर्थमा ताल भन्नाले अरूले पानी भरिएकाे ठाँउ भन्ने ठाँन्दछन् तर यसकाे संरक्षणका लागि तालकाे वरपर हुने दलदल अथवा सिमसारकाे अावश्यकता हुन्छ । जुन फेवातालमा छ, यसै कारणले गर्दा फेवाताल विश्वकै सम्पदा बनेकाे छ ।
तालमा मिसाइएकाे ढल तथा प्लाटिंकाे कारण विज्ञहरूले भविष्यमा ताल सुक्न सक्ने चेतावनी दिएका छन ्।
फेवातालको सिम क्षेत्रमा पछिल्लो समयमा जग्गा किनबेच बढेको पोखरा उपमहानगरपालिका २६ का सचिव रुद्रप्रसाद बास्ताकोटीले बताए। ‘जग्गा सम्याउन, घरबाटो, चार किल्लाका लागि बढी सिफारिस लिन बढी आउने गरेका छन्’, उनले भने।
प्लटिङ पोखरा उपमहानगरपालिकाबाट स्वीकृत नभएको अधिकारीहरू बताउँछन्। नगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले स्वीकृति नदिइएको सुनाए। ‘प्लटिङ कसले गर्यो भन्ने नै थाहा छैन’, प्लटिङ स्वीकृत वा अस्वीकृत गर्ने जिम्मेवारी पाएका उनले जनाएको अन्नपूर्णमा समाचार छ ।
स्वीकृतनै नभएकाे सिमसार क्षेत्रलार्इ स्थानीयले जील्ला विकास समितिमा उजुरी दिए पनि बेवास्ता गर्दा अाज घडेरी बनाइएकाे छ ।
सिमसार क्षेत्रमै पर्ने सेदीमा ५ वर्षअघि होटेल वाटरफ्रन्ट बनाएर चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यले फेवामाथि धावा बोलिसकेका थिए। त्यति बेला विरोधमा उत्रिएका स्थानीय अहिले घडेरी प्लटिङ हुँदा भने मौन छन्।
अहिले प्लटिङ भएको ठाउँ आफैंमा विवादित जमिन पनि हो। जानकारहरू यो पहिला तालकै जमिन भएको तर पुरिँदै जाँदा व्यक्तिले आफ्नो नाममा बनाएको बताउँछन्।फेवाताल अतिक्रमित जग्गा छानबिन उच्चस्तरीय समितिका संयोजक विश्वप्रकाश लामिछानेका अनुसार २०३१ सालमा बाँध फुटेपछि पानीले केही भाग छोडेको थियो। २०६९ जेठ ३ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाइएको प्रतिवेदन भट्टराई र त्यसपछिका सरकारले कार्यान्वयन गरेनन्। रद्दीको टोकरीमा मिल्काइदिए। ‘छानबिन समितिले त्यतिबेला अध्ययन गरी २ हजार ९ सय ९२ रोपनी जग्गा बाँध फुटेपछि अतिक्रमण भएको प्रतिवेदन तयार गरी लालपुर्जा खारेज गर्न सिफारिस गरेको हो’, लामिछाने भन्छन्।
फेवातालवरपरको डाँडा र सिमसार क्षेत्रमा जथाभाबी डोजर चलाउने र सिमसार क्षेत्र पुर्ने गरिँदा बर्सेनि तालको क्षेत्रफल घट्दै गएको छ। प्रतिवर्ष १ लाख ४२ हजार टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। यसैको परिणाम फेवाताल ५ वर्गकिलोमिटर क्षेत्रफलमा सीमित छ। उचित संरक्षणको अभावमा ४० देखि ५० वर्षको अवधिमा ताल ५० प्रतिशत पुरिएको अध्ययनले देखाएको छ। भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागको २०६४ सालमा प्रकाशित प्रतिवेदनअनुसार त्यतिबेला तालको गहिराइ १८ मिटर, लम्बाइ ४ किलोमिटर र चौडाइ सय मिटरदेखि २ किलोमिटर थियो। सन् १९५७ को नापीअनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० यताका अध्ययनमा क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपनीमा सीमित छ।